खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको स्थापना, उद्देश्य एवं परिचय

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको मुख्य उद्देश्य जनताको आधारभूत आवश्यकताको रूपमा रहेको स्वच्छ तथा गुणस्तरीय खानेपानीको पहुँच सुनिश्चित गर्नु, स्वच्छ पिउने पानीको अभावबाट सिर्जित विभिन्न रोग तथा महामारीको जोखिम न्यूनीकरण गर्नु तथा सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु हो। आवश्यकताका आधारमा स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइसम्बन्धी पूर्वाधारको विकास तथा सुविधा विस्तार गरी नागरिकको स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा सुधार ल्याउन सहयोग गर्नु यस कार्यालयको प्रमुख उद्देश्य रहेको छ।

कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र खानेपानी तथा सरसफाइसम्बन्धी आवधिक योजना तथा मन्त्रालयबाट स्वीकृत वार्षिक कार्यक्रमअनुसार योजना तर्जुमा, योजना छनोट, प्राविधिक अध्ययन तथा डिजाइन, निर्माण, कार्यान्वयन, अनुगमन, निरीक्षण तथा आवश्यक समन्वय र सहजीकरण सम्बन्धी कार्य गर्दै आएको छ। साथै, खानेपानी तथा सरसफाइका आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तह, उपभोक्ता समिति तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्दै आयोजनाको गुणस्तर, प्रगति तथा दिगोपनामा समेत सहजीकरण गर्ने कार्य गर्दछ।

खानेपानी तथा सरसफाइसम्बन्धी योजना तथा कार्यक्रमको कार्यान्वयन, अनुगमन एवं निरीक्षणका लागि नेपाल सरकारको मातहतमा रहने गरी साविकको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई वि.सं. २०७५ सालमा नयाँ संरचनामा आधारित भई स्थापना गर्ने निर्णय गरिएको थियो। सोही संरचनाअनुसार कोशी प्रदेश सरकारको मातहतमा रहने गरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पाँचथर स्थापना भई आफ्नो कार्यक्षेत्रमा खानेपानी तथा सरसफाइसम्बन्धी योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

पाँचथर र ताप्लेजुङ जिल्ला कार्यक्षेत्र रहेको यस डिभिजन कार्यालयको मुख्य कार्यालय पाँचथर जिल्लाको सदरमुकाममा रहेको छ। कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र रहेका खानेपानी तथा सरसफाइसम्बन्धी आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम सञ्चालन, निर्माणाधीन आयोजनाको अनुगमन तथा निरीक्षण र सम्बन्धित निकायसँग समन्वय गर्दै सर्वसुलभ, सुरक्षित, गुणस्तरीय तथा दिगो खानेपानी र सरसफाइ सेवा विस्तारमा योगदान पुर्याउँदै आएको छ।